गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढिगंगा नदीको मुहान संग जोडिएको छ । साविकको दहकोट गाविस हुदै बाजुरा र अछाम जिल्ला भएर बग्ने वुढिनन्दा नदिको मुहान साविकको दहकोट गाविसमा रहेको जेठीवाहुरानी हिमालको फेदीबाट बग्दछ । उक्त मुहानबाट पानी निस्कदा गाईको मुख भित्रबाट निस्केको जस्तो देखिने आकृति भएकोले यस मुल लाई गाईको मुल अर्थात गौमुल भनिएको यो क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा प्राचिन काल देखि विश्वास गरिदै आएको स्थान भएको र वुढिगंगा नदिले हालको गौमुल गाउपालिकाको प्राय धेरै जसो स्थानलाई आफ्नो वहाव क्षेत्र वनाएकोले उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको नामबाट यस गाउपालिकाको नामाकरण गरिएको पाईन्छ । बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये गौमुल गाउँपालिका दुर्गम र भौगोलिक रुपमा विकट गाउँपालिका हो । यस गाउँपालिकाको सिमाना पूर्वमा बुढिनन्दा नगरपालिका, पश्चिममा बझागं जिल्ला, हिमाली गाउपालिका र बझागं जिल्ला र दक्षिणमा बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका सँग जोडिएको छ ।
यो गाउँपालिका समुद्री सतह देखि १३६० मिटर देखि ५४४० मि. सम्म फैलिएको छ । यस गाउँपालिकाको अधिकाँश भूभाग उच्च पहाडी र हिमाली क्षेत्र भित्र पर्दछ । यो गाउपालिका ५२८४३१.५६७६९९ मि पश्चिमी देशान्तर देखि ५५५६६३.८७७३९५ मि.पूर्वी देशान्तर सम्म फैलिएको छ भने ३२८५५२८.४९९८७१ मि उत्तर देखि ३२८५५२८.२४६६५२ मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ । ३१४.६६ वर्ग किलो मिटरमा क्षेत्रफलमा यो गाउँपालिका फैलिएको छ । यस गाउँपालिकाको अधिकाँश भुभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्दछ ।
यस गाउँपालिकाको अधिकाँश क्षेत्र भिरालो तथा चट्टानी भुभागमा रहेको छ । यस गाउँपालिकामा वनजंगलले ३७ प्रतिशत भुभाग ओगटेको छ । घासे भुभाग २३.९२ प्रतिशत, वुट्यान १९ प्रतिशत र बाँझो उजाड भुभागले पनि १२.६२ प्रतिशत ओगटेको छ ।